जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालका अनुसार आज बिहान ९ः४५ बजेदेखि अर्को आदेश नआएसम्मका लागि कर्फ्यु लागू गरिएको हो।
कर्फ्यु अवधिमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ । पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार कर्फ्यु क्षेत्रको सीमा पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ । यी चार किल्लाभित्र सर्वसाधारणको आवत–जावत तथा कुनै पनि प्रकारका सार्वजनिक गतिविधि निषेध गरिएको छ।
तर अत्यावश्यक सेवाका सवारी साधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षामा सहभागी परीक्षार्थी, परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवार सवारी साधन तथा मानव अधिकार र कूटनीतिक नियोगका गाडीलाई सञ्चालन अनुमति दिइएको छ।
यसैगरी, हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।





















