रौतहट । गौरमा लगाइएको कर्फ्यु हटाइएपछि नागरिक समाजको अगुवाइमा शान्ति–सद्भाव र्याली निकालिएको छ।
गौर–६ सबगढाबाट सुरु भएको र्याली मुख्य सडक हुँदै प्रभावित बस्तीहरू परिक्रमा गरेको हो। गाउँमा शान्ति र सद्भाव कायम गर्ने उद्देश्यले राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी तथा प्रशासनको सहभागितामा र्याली आयोजना गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय रौतहटले आज बिहान ६ बजेदेखि लागू हुने गरी कर्फ्यु हटाएको जनाएको छ।
केही दिनयता गौर क्षेत्रमा अशान्ति फैलिएको थियो। दुई समुदायबीच उत्पन्न विवाद चर्किएपछि अवस्था नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्यु हटेसँगै जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।



















