
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको नेकपा एमालेले आफ्नो पुरानो विरासत फर्काउने आधार तयार भएको देखिएको छ । काठमाडौँ–१ मा एमालेको ऐतिहासिक उपस्थिति बलियो रहँदै आएको छ ।
नेकपा एमालेका नेताहरु मदन भण्डारी, मनमोहन अधिकारी, प्रदिप नेपाल, विद्यादेवी भण्डारी जस्ता नेताहरू निर्वाचित भएर काठमाडौं १ लाई राष्ट्रिय राजनीतिसँग जोडेका थिए । तर २०६४ सालपछि कांग्रेस नेता प्रकाशमान सिंहको निरन्तर जितले एमाले कमजोर अवस्थामा पुगेको थियो । यस पटक सिंह चुनावी दौडमा नरहेको र कुनै दलबचि गठवन्धन नरहेकाले राजनीतिक सन्तुलन फेरिएको छ, जसको फाइदा नेकपा एमालेलाई पुग्ने विश्लेषण गरिएको छ।
यसअघिका निर्वाचनमा एमालेले क्षेत्र भन्दा बाहिरका नेतालाई उम्मेदवार बनाउँदा केही कमजोर भएको महसुस गर्दै यस पटक यही क्षेत्रमा जन्मिएर यही राजनीति, समाजसेवा र स्थानीयका सुखदुःखमा साथ दिँदै आएका मोहनराज रेग्मीलाई अघि सारेको छ ।
चार्टर्ड एकाउन्टेन्ट तथा नेपाल अडिटर्स एशोसिएशनका पूर्व अध्यक्ष रेग्मीलाई उम्मेदवार बनाउँदै पार्टीले विकास, सुशासन, समृद्धि, स्थायित्व र जनसरोकारका विषयलाई मुख्य एजेन्डा बनाएर आक्रामक रूपमा अघि बढिरहेको देखिन्छ। रेग्मी हाल टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्, जसले स्थानीयस्तरमा उल्लेख्य समर्थन पाएको देखिन्छ।
यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिए पनि कांग्रेसभित्र विशेष महाधिवेशनको विवादले नेता/कार्यकर्ताबीच मुनमुटाव बढ्न, उम्मेदवार छनोटप्रति असन्तुष्टि देखिनु, राप्रपाका रविन्द्र मिश्रले विगतजस्तो जनसमर्थन नपाउनु, कांग्रेस उम्मेदवार राजावादी परिवारका नातेदार हुनु तथा वैकल्पिक दल र स्वतन्त्र उम्मेदवारको भीडका कारण मिश्रले यसअघि पाउँदै आएको मत पनि विभाजन हुने सम्भावनाले एमालेका लागि वातावरण अनुकूल बनेको छ ।

यस क्षेत्रका मतदाता समेत रहेका पूर्वप्रशासक, पत्रकार, वकीलहरुबीच भएको कफिगफको निचोड अनुसार “स्थानीय मतदातासँगको निरन्तर सम्पर्क, संगठित कार्यकर्ता परिचालन र घरदैलो अभियानमा देखिएको उत्साहका कारण काठमाडौँ–१ मा एमालेले आफ्नो हराएको आधार पुनः निर्माण गर्ने सम्भावना बलियो बन्दै गएको छ ।”
रेग्मीले आफ्नो राजनीतिक यात्रालाई समाजसेवा र क्षेत्रीय विकासमा केन्द्रित राखेका छन् । उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा रोजगारीका अवसर विस्तारलाई प्राथमिकतामा राखेका छन् । युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, महिला सशक्तिकरण तथा सामुदायिक विकासका कार्यक्रम अघि बढाउने, यसै क्षेत्रमा पर्ने जेन्जी आन्दोलनमा ध्वस्त सिंहदरवारलगायतका संरचनाको पुननिर्माण, बागमती, धोवीखोला व्यवस्थित गर्ने, खोलाकिनारामा रहेका सुकुम्वासीहरुको उचित व्यवस्थापन गर्ने योजना रेग्मीका छन् ।
पार्टीभित्र रेग्मी संगठन विस्तार, सदस्यता वृद्धि, रणनीतिक योजना निर्माण र जनसहभागिता बढाउने काममा सक्रिय रेग्मी स्थानीय समुदायसँग प्रत्यक्ष सम्बन्ध राख्दै सामाजिक सहयोग र जनचेतना अभिवृद्धिमा संलग्न हुँदै आएका छन् । एमाले उम्मेदवार रेग्मी सरल स्वभाव, सहयोगी भावना, व्यक्तिगत–व्यवसायिगत सम्वन्ध, क्षेत्रदेखि टोलसम्म रहेको पार्टीको सशक्त, जुझारु, सक्रिय संगठन, पार्टीका शुभेच्छुकहरुको समर्थनले रेग्मीले जित हासिल गर्न सम्भावना प्रवल बनेको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
यस निर्वाचनमा काठमाडौँ–१ मा एमालेका रेग्मी, राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु न्यौपाने (रन्जु दर्शना), कांग्रेसका प्रबल थापा क्षेत्री, माओवादी केन्द्रकी मेनुका भण्डारी तथा राप्रपाका रविन्द्र मिश्रसहित विभिन्न दलका १६ उम्मेदवार र १३ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।





















