नेपालगन्ज । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।
कोहलपुरबाट राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेशको बिएए ०३०५ नम्बरको एम्बुलेन्सले गुलरिया नगरपालिका–७ तुलापुरमा ठक्कर दिँदा ५५ वर्षीय भूमि लामिछाने र उनका करिब सात वर्षीय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रहरीका अनुसार योग शिविरतर्फ जाँदै गरेका उनीहरूलाई तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको हो। मृतक लामिछाने योग गुरु समेत रहेको बताइएको छ।
दुर्घटनामा उनकी पत्नी ५० वर्षीया सीता लामिछाने र ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्। उनीहरूको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ।
घटनापछि एम्बुलेन्स र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिएका छन्।

















