काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन कुमार श्रेष्ठले पार्टीको महाधिवेशन टारिएको भन्ने चर्चा गलत रहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशन गर्न नचाहेको भन्ने भाष्य सरासर भ्रमपूर्ण रहेको स्पष्ट पारे। उनका अनुसार अध्यक्ष लिङ्देन समयमै महाधिवेशन सम्पन्न गर्न आवश्यक प्रक्रिया अघि बढाइसकेको र जिल्ला अधिवेशनहरू पनि क्रमशः सम्पन्न भइरहेका छन्।
श्रेष्ठले महाधिवेशनका लागि न्यूनतम सर्तका रूपमा जिल्ला अधिवेशन पूरा हुनुपर्ने उल्लेख गर्दै दुई दर्जनभन्दा बढी जिल्लामा अधिवेशन भइसकेको जानकारी दिए। उनले महाधिवेशनको माग गर्ने कतिपय नेताकै जिल्लामा भने अधिवेशन सम्पन्न नभएको दाबीसमेत गरे।
पार्टीभित्र अनर्गल प्रचार भइरहेकोप्रति असन्तुष्टि जनाउँदै उनले अन्ततः सबैले यही पार्टी निर्माण गर्नुपर्ने तथ्य बिर्सेर दुष्प्रचार गर्नु उचित नभएको बताए। उनले उम्मेदवार नबन्ने, पार्टीलाई सहयोग नगर्ने र भोटसमेत नहाल्नेहरूबाट नैतिकताको प्रश्न उठ्नु विडम्बनापूर्ण रहेको टिप्पणी गरे।
श्रेष्ठका अनुसार राप्रपामा कुनै पनि निर्णय अध्यक्षको एकल निर्णयबाट नभई सामूहिक छलफलबाट हुने गरेको छ। विशेष परिस्थितिमा लिइएका निर्णयहरू पनि कार्यसम्पादन समितिबाट अनुमोदन गरिने परम्परा रहेको उनले उल्लेख गरे।
जेठमै महाधिवेशन नभए पार्टी समाप्त हुन्छ भन्ने अभिव्यक्ति गैरजिम्मेवार भएको बताउँदै उनले असहयोगका बाबजुद पनि राप्रपा समाप्त नहुने जिकिर गरे। साथै, महाधिवेशनको माग गर्नेहरूभन्दा अध्यक्षलाई नै छिटो महाधिवेशन आवश्यक रहेको उनको भनाइ छ।
उनले पार्टीभित्रको असहयोग र असहिष्णुताका बीच नयाँ जनादेशमार्फत पार्टीलाई नयाँ ढंगले अघि बढाउने चाहना अध्यक्षमा रहेको पनि उल्लेख गरेका छन्।




















