वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम आइतबार बिहानैदेखि सुरु गरिएको छ। लामो समयदेखि रोकिएको सडक विस्तार आज विहानैदेखि नै डोजर र एक्साभेटरसहितका उपकरण प्रयोग गरी घर टहरा भत्काउन थालिएको हो ।
सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार गर्न एकैपटक पाँच स्थानबाट काम सुरु गरिएको छ।
सडक विस्तारका क्रममा ९ वटा उपकरण परिचालन गरिएको छ भने सुरक्षाको दृष्टिले प्रहरी तैनाथी पनि बढाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालका अनुसार सडकको मध्य भागबाट २५ मिटरभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने कार्य सुरु भइसकेको छ। यस कार्यमा वीरगञ्ज महानगरपालिका, प्रहरी र अन्य सरोकारवाला निकायसँग समन्वय गरिएको छ।
यसअघि करिब १,२०० घरधनीले मुआब्जा र वैकल्पिक सडकको माग गर्दै मुद्दा दायर गरेका कारण झण्डै १३ वर्षसम्म सडक विस्तार रोकिएको थियो। तर सर्वोच्च अदालत ले २०८१ फागुन २८ गते सरकारको पक्षमा फैसला गर्दै रिट खारेज गरेपछि विस्तारको बाटो खुलेको हो।




















