जेनेभा । दक्षिणपश्चिमी स्वीट्जरल्याण्डको भालेसमा सोमबार बिहान एउटा रेल दुर्घटना हुँदा कैयौँ व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।
एक सामाजिक सञ्जालमा गरिएको पोस्टमा स्थानीय प्रहरीले भनेको छ, “रेल दुर्घटना बिहान ७ बजे गोपेन्स्टाइन नजिकै भएको थियो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार करिब ८० जना सवार उक्त रेल ब्रिगतर्फ जाँदै गर्दा लिकबाट बाहिरिएको थियो । हिमपहिरोले लिकलाई अबरोध गरेका कारण दुर्घटना भएको हुनसक्ने स्विस फेडरल रेलवे (एसबीबी) ले आफ्नो वेबसाइटमा लेखेको छ।
एसबीबी र बर्न–लोट्सबर्ग–सिम्पलोन रेलवेले गोपेनस्टाइन र ब्रिगबीचको सेवा अवरोधको घोषणा गरेका छन्। एसबीबीले भनेको छ, “रेलमार्ग हाल बन्द छ र मङ्गलबार बिहानसम्म यस्तै रहने अपेक्षा गरिएको छ।”
हिमपात र आँधीबेहरीले भालेसमा ठूलो मात्रामा हावाको बहाव निम्त्याएको छ। ‘डब्लुएसएल इन्स्टिच्युट फर स्नो एन्ड हिमस्खलन रिसर्च’ (एसएलएफ) को पछिल्लो बुलेटिनअनुसार स्वीट्जरल्याण्डको उक्त खण्डमा हिमपहिरो जानु र यसका कारण यातायातमा समस्या हुनु सामान्य मानिन्छ । (रासस\सिन्ह्वा)




















