काठमाडौँ । उत्तरी सुडानको नाइल नदीमा डुङ्गा डुब्दा कम्तिमा २१ जनाको मृत्यु भएको स्थानीय सरकार तथा प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै एएफपीले जनाएको छ।
दुर्घटना पछि मृतकको शव बरामद भई सकेको र उनीहरूको नाम सूचीबद्ध गरेको तथा केही यात्रु अझै बेपत्ता रहेको बताइएको छ।
स्थानीय सरकारको विज्ञप्तिमा डुङ्गा तैबा अल–खवाद र दिम अल–कराई गाउँहरू बिचको नदी पार गर्दै गर्दा दुर्घटनामा परेको उल्लेख गरिएको छ यद्देपी दुर्घटनाको कारण भने उल्लेख गरिएको छैन।
प्रत्यक्षदर्शीलाई उदृत गर्दै एएफपीले डुङ्गामा ३० जना सवार रहेको बताएको छ। सुडानीज डक्टरस नेटवर्कले एक विज्ञप्ति मार्फत डुङ्गामा सवार छ जना यात्रुहरु जिवित रहेको जनाएको छ।
नेटवर्कले उक्त घटनाले “नदी यातायातको नाजुकता र आधारभूत सुरक्षा आवश्यकताहरूको अभाव, अधिकारीहरू र नागरिक सुरक्षा उद्धार टोलीहरूको पूर्ण अनुपस्थिति“ उजागर गरेको छ।
सुडानीहरू एकल–इन्जिन डुङ्गाहरू मार्फत एकल अपरेटरहरूको नेतृत्वमा नदी पार गर्ने गर्छन भने लगभग तीन वर्षदेखि चलिरहेको युद्धका कारण देशको पूर्वाधार ध्वस्त हुँदै गएको छ।
युद्धले देशलाई सेना र अर्धसैनिक द्रुत समर्थन बलहरू बिच विभाजित गरेको छ, भने सार्वजनिक सेवा , चिकित्सा र शैक्षिक पूर्वाधारमा गम्भीर गिरावट आएको छ । (रासस)




















