काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–१० देवीटोलमा गोली प्रहारबाट हत्या भएका सब–इन्जिनियर प्रमोद यादवको हत्या आरोपीलाई पक्राउ गर्न माग गर्दै उनका आफन्तहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्।
सिरहाको सुखीपुर नगरपालिका–६ निवासी यादवको अज्ञात समूहले हत्या गरेपछि दोषीलाई पक्राउ गर्दै कारबाहीको माग राखेर उनका आफन्तहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी आफन्तजनहरुले हत्यारालाई कारबाही गर, पीडित परिवारलाई न्याय दे, मौन सरकार लाज किन, न्यायबिना शान्ति हुँदैन लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
मृतकका आफन्त दिलीप यादवले क्रिया बिदा सकेर कार्यालयमा कामका लागि मलंगवास्थित डेरामा फर्किएपछि अज्ञात समूहले हत्या गरेको भन्दै दोषीलाई छिटो पक्रन माग गरे। प्रमोद यादवलाई डेराबाट बाहिर बोलाएर गोली प्रहार भएको उनले बताए।
भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत जिल्ला पूर्वाधार विकास कार्यालय, सर्लाहीमा कार्यरत सब–इन्जिनियर यादवमाथि आइतबार राति गोली प्रहार भएको थियो। गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल मलंगवामा पुर्याइए पनि चिकित्सकले केही बेरमै मृत घोषणा गरेका थिए।




















