काठमाडौं । बंगलादेशमा विद्यार्थी विद्रोहको आधारमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले हालै सम्पन्न निर्वाचनमा अपेक्षाअनुसारको नतिजा ल्याउन नसकेको छ ।
मतगणनाको प्रारम्भिक तथ्यांकअनुसार एनसीपीले जितेका सिटको संख्यामा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबीच फरक–फरक विवरण आएका छन् । ‘ढाका ट्रिब्युन’का अनुसार एनसीपीले ४ सिट जितेको छ भने एक सिटमा अग्रता लिएको छ । CNN र Reuters ले भने एनसीपीले ५ सिट जितेको उल्लेख गरेका छन् । सीएनएनका अनुसार पार्टीले ३० निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको थियो ।
अपेक्षाअनुसार नतिजा नआएपछि एनसीपीले मतगणनामा अनियमितता भएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरेको BBC ले जनाएको छ ।
सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएकी थिइन् । त्यसपछि विद्यार्थी आन्दोलनबाट उदाएका नेताहरूको पहलमा एनसीपी गठन भएको हो । आन्दोलनका क्रममा चर्चामा आएका नाहिद इस्लाम हाल एनसीपीको नेतृत्व गरिरहेका छन् ।
एनसीपीले आफूलाई भ्रष्टाचार र तानाशाहीविरुद्धको वैकल्पिक शक्ति भन्दै युवाका लागि रोजगारी, हिंसापीडितको न्याय र संस्थागत सुधारजस्ता मुद्दा अघि सार्दै आएको थियो ।
बंगलादेशमा जुलाई २०२४ मा भ्रष्टाचार र सुशासनको माग गर्दै विद्यार्थी आन्दोलन सुरु भएको थियो । सुरुमा सरकारी जागिरमा रहेको आरक्षण व्यवस्थाविरुद्ध प्रदर्शन भए पनि पछि आन्दोलन सरकारविरोधी विद्रोहमा परिणत भएको थियो । सो क्रममा सेनासमेत सडकमा उतारिएको थियो र संयुक्त राष्ट्रसंघका अनुसार करिब १४ सय जनाको मृत्यु भएको थियो, जसमा अधिकांश विद्यार्थी तथा युवा थिए ।
आन्दोलन तीव्र बन्दै गएपछि शेख हसिना देश छाडेर भारत पुगेकी थिइन् । त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो । सोही अन्तरिम सरकारले बिहीबार निर्वाचन गराएको हो । शेख हसिनाको दलमाथि प्रतिबन्ध लगाइएकाले उनीहरूको सहभागिता हुन पाएन ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा तारिक रहमानले नेतृत्व गरेको बीएनपी पार्टीले सबैभन्दा धेरै सिट जित्दै बहुमत हासिल गरेको छ । तारिक रहमान प्रधानमन्त्री बन्ने बताइएको छ । बीएनपी करिब दुई दशकपछि सत्तामा फर्किएको हो ।
यसैबीच, भारतमा निर्वासन जीवन बिताइरहेकी शेख हसिनाले यो निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भनेकी छन् । अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले गैरकानुनी रूपमा सत्ता कब्जा गरेर त्यही आधारमा चुनाव गराएको उनको आरोप छ ।



















