काठमाडौँ । जापानमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री साने ताकाइचीको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले ऐतिहासिक जित हासिल गरेको छ।
बीबीसीका अनुसार जापानको प्रतिनिधि सभाका कुल ४६५ सिटमध्ये एलडीपी एक्लैले ३१६ सिट जितेको हो। जबकि बहुमतका लागि २३३ सिट भए पुग्छ ।
एलडीपी गठबन्धनले भने कुल ३५२ सिट जितेको छ। यसलाई जापानमा ऐतिहासिक विजय मानिएको छ । यसअघि उसले सबैभन्दा बढी सन् १९८६ मा ३०० सिट जितेको थियो।
अघिल्लो निर्वाचनमा सामान्य बहुमत समेत ल्याउन नसकेर मिलिजुली सरकार चलाइरहेको लिबरलले यो निर्वाचनमा एक्लैले दुई तिहाइ प्राप्त गरेको हो ।
चुनाव जितेपछि प्रधानमन्त्री ताकाइचीले जापानलाई बलियो र समृद्ध बनाउन आफ्ना नीति अगाडि बढाउने बताएकी छन्। आवश्यक परे आफू विपक्षीसँग काम गर्न तयार रहेको पनि बताएकी छन्।
यो जितसँगै प्रधानमन्त्री ताकाचीलाई माथिल्लो सदनमा विपक्षीको नियन्त्रण भए पनि कानुन पारित गर्ने शक्ति प्राप्त भएको छ।
विश्व नेताहरूको बधाई
तकाइचीले विश्व नेताहरूबाट बधाई पाइरहेकी छिन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनलाई बधाई दिँदै उनी “निकै प्रतिष्ठित र धेरै लोकप्रिय नेतृ” भएको उल्लेख गरेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको विजयलाई स्वागत गरेका छन्। उनले भारत र जापानबीचको मित्रता “नयाँ उचाइमा पुग्ने” विश्वास व्यक्त गरेका छन्।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि तकाइचीलाई बधाई दिँदै “जापान बलियो हुँदा एशियामा अमेरिका पनि बलियो हुने” बताएका छन्।
मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले पनि जापानको अर्थतन्त्रलाई ताजा बनाउने तकाइचीको अठोटले जनमत जितेको भन्दै बधाई दिएका छन्।
ताइवानका राष्ट्रपति लाई चिङ दले पनि उनको नेतृत्व र दृष्टिकोणले जापानी मतदाताको विश्वास जितेको उल्लेख गरेका छन्।




















