काठमाडौँ । आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा नेपाललाई इङ्ल्यान्डले १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो। इङ्ल्यान्डका लागि ज्याकोब बेथेलले सर्वाधिक ५५ रन बनाए। उनले ३५ बलमा समान ४चौका र ४ छक्का प्रहार गरे। उनले कप्तान ह्यारी ब्रुकसँग ७१ रनको साझेदारी गरेका थिए।
पावरप्ले सकिँदा इङ्ल्यान्डले २ विकेटको क्षतिमा ५७ रन बनाएको थियो। नेपालका लागि पहिलो विकेट शेर मल्लले लिएका थिए । उनले दोस्रो ओभरको पहिलो बलमा नेपालको लागि पहिलो विकेट लिएका हुन्। उनले ओपनर फिल साल्टलाई क्याच आउट गराएका थिए। नेपालको लागि ५३औं खेलाडीको रुपमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनले पहिलो बलमा नै विकेट लिएका हुन्।
दोस्रो विकेट मध्यम गतिका बलर नन्दन यादवले लिए। उनले अर्का ओपनर जोस बट्लरलाई २६ रनमा विकेटकिपर आसिफ शेखको हातमा क्याच गराएका थिए। पावरप्ले सकिँदा इङ्ल्यान्डले दुवै ओपनरको विकेट गुमाएको थियो।
१० ओभरको खेल सकिँदा इङ्ल्यान्डले ३ विकेटको क्षतिमा ८४ रन बनाएको थियो। ११.२ ओभरमा ३ विकेटको क्षतिमा इङ्ल्यान्डले १०० रन पूरा गर्यो। अर्धशतकभन्दा लामो ज्याकोब बेथ र ह्यारी ब्रुकको साझेदारी दीपेन्द्र सिंह ऐरीले तोडेका हुन्। १३.४ ओभरमा दिपेन्द्रले ज्याकोब बेथलाई ५५ रनमा लोकेश बमको हातमा क्याच गराए।
पाँचौं विकेटको रूपमा इङ्ल्यान्डले साम करन २ रनमा बोल्ड भए। उनलाई दीपेन्द्रले बोल्ड गरे। छैटौं विकेट कप्तान ह्यारी ब्रुकको गयो। उनले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाउँदै नन्दन यादवको बलमा शेर मल्लको हातमा क्याच भए। जोफ्रा आर्चर १ रनमा रनआउट भए।
विल ज्याक्स र लियम डाउसन क्रमशः ३९ र शून्यमा अविजित रहे। नेपालका लागि दीपेन्द्र र नन्दनले २-२ विकेट लिए। शेर मल्ल र सन्दीप लामिछाने १-१ विकेट लिए ।




















