काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रमाथि प्रहार गर्ने विश्व प्रतिक्रियावादको भूराजनीतिक चलखेल नेपालमा समेत देखिन थालेको बताएका छन्।
सोमबार काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालको प्रयोगमार्फत विश्व साम्राज्यवादले विभिन्न देशमा भूराजनीतिक हस्तक्षेप गर्ने गरेको र त्यसको असर नेपालमा पनि परेको उल्लेख गरे।
विचार, राजनीति, सिद्धान्त, इतिहास र विरासत नहुने व्यक्तिहरू सामाजिक सञ्जालकै भरमा लोकप्रिय बन्न खोज्ने प्रवृत्ति बढेको भन्दै प्रचण्डले यस्ता प्रवृत्तिको प्रतिवाद गर्न नयाँ संकल्प र नयाँ समीक्षासहित राष्ट्र र जनताप्रति समर्पित शक्तिको आवश्यकता रहेको बताए। त्यही शक्तिको निर्माण गर्ने उद्देश्यसहित नेपाली कम्युनिस्ट पार्टी गठन गरी अघि बढेको उनले स्पष्ट पारे।
संयोजक प्रचण्डले विकास निर्माण, सुशासन, भ्रष्टाचारविरुद्धको अभियान, सामाजिक विभेदको अन्त्य, सामाजिक न्यायको प्रवर्द्धन तथा आर्थिक विकास, समृद्धि र रोजगारी सृजनालाई केन्द्रमा राखेर पार्टीले अघि सारेका नीति, योजना र कार्यक्रमप्रति जनताको आशा र भरोसा बढ्दै गएको दाबी गरे।
उनले अहिलेको समय सामाजिक सञ्जाल र सूचना प्रविधिको भए पनि जनतालाई प्रत्यक्ष रूपमा घर–घरमा पुगेर बुझाउने विधि सबैभन्दा प्रभावकारी हुने धारणा व्यक्त गरे। नयाँ विचार र नयाँ राजनीतिक एजेन्डा बोकेको पार्टी अहिले नेकपा मात्रै भएको उनको भनाइ छ।
कार्यक्रममा एमाले खेलकुद विभागकी सदस्य रेनुका श्रेष्ठ, बैंकर विमला ज्ञवाली, अधिवक्ता सविना वाग्ले तथा नेकपा (बहुमत) निकट क्रान्तिकारी पत्रकार संघका केन्द्रीय संयोजक जीवन हमाललगायत विभिन्न क्षेत्रका व्यक्तिहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका प्रचण्डको सचिवालयले जनाएको छ।




















