खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएपछि बिरामी परेका अधिकांश स्थानीय उपचारपछि निको भएका छन्।
माघ २१ गते आयोजित विवाह भोजमा सहभागी भएका बेहुला–बेहुलीसहित १७३ जना बिरामी परेका थिए। तीमध्ये अधिकांशको स्वास्थ्य अवस्थामा सुधार आएको र हाल प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पाँच जना मात्र उपचाररत रहेको जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेबी राईले जानकारी दिइन्। ती बिरामीलाई स्लाइन पानी दिइँदै उपचार भइरहेको छ।
बिरामीको संख्या बढेपछि गाउँपालिकाले माघ २३ गते दिप्लुङकै निगालाबास भञ्ज्याङमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गरी उपचारको व्यवस्था मिलाएको थियो। गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टोली, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिहरू दिनरात उपचारमा खटिएका थिए।
विवाह भोज खाएका स्थानीय माघ २२ गते साँझदेखि बिरामी पर्न थालेका थिए। भोज खाएको करिब १२ घण्टापछि ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने जस्ता लक्षण देखिएको थियो।
स्वास्थ्य कार्यालयबाट औषधि तथा जनशक्ति थप गरेर उपचार गरिएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए। भोजमा सहभागी भएर फर्किएका उदयपुर, काठमाडौंलगायतका पाहुनासमेत बिरामी परेको सूचना आएको उनले जानकारी दिए।
गाउँपालिकाका अनुसार १०० जना बिरामीको घरमै पुगेर उपचार गरिएको थियो भने ७३ जनालाई शिविर केन्द्रमा उपचार गरिएको थियो।
भोज खाने क्रममा ‘फुड पोइजनिङ’ भएको आशंका गरिएको छ। बिरामी पर्नुको कारण पत्ता लगाउन स्याम्पल संकलन गरी प्रदेश प्रयोगशालामा पठाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बताए।
बिरामीको अवस्था बुझ्न पुगेका नेकपा एमाले नेता विशाल भट्टराईले सामाजिक सञ्जालमार्फत सबै बिरामीको अवस्था क्रमशः सुधारोन्मुख रहेको जानकारी दिएका छन्। उनका अनुसार करीव सयभन्दा बढी संख्यामा आक्रान्त बिरामीलाई जन्तेढुङा, खोटेहाङ र सदरमुकामबाट उपस्थित स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको थियो।
कोशी प्रदेशका मुख्यमन्त्री मा. हिक्मत कार्कीसँग कुराकानी भए अनुसार प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, डा. रामहरि रेग्मी , डा. सन्तोष राई लगायतको टोली आज चिसापानी आइपुग्ने भट्टराईले जानकारी दिएका छन् ।
सामुहिक बिरामीको कारण खोजी गर्न बिरामीको स्याम्पल प्रदेश सरकारको ल्याबमा पठाईएको जिल्ला जनस्वास्थ्य अधिकृत कुल ब पौडेलले प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानीमा बताएका छन् ।




















