काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक र सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष सम्बन्धित पूर्वाधार आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु पार्टीको प्रमुख प्रतिबद्धता भएको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सवा सात मिनेट लामो भिडियो सन्देश जारी गर्दै उनले देशमा पूर्वाधार निर्माण ढिलाइ हुनु ठूलो समस्या बनेको उल्लेख गरे। पूर्वाधार आयोजना समयमै सम्पन्न नहुँदा विकास लागत बढ्नुका साथै अर्थतन्त्रको उत्पादनशीलतामा समेत नकारात्मक असर परेको उनको भनाइ छ।
‘हाम्रो देशमा पूर्वाधार समयमै नबन्ने गम्भीर समस्या छ। यसले विकासको लागत बढाएको मात्र होइन, अर्थतन्त्रको इकोनोमिक प्रोडक्टिभिटीमा पनि ठूलो असर पारेको छ, जसको अवसर लागत अत्यन्तै उच्च छ,’ थापाले भिडियो सन्देशसँगै उल्लेख गरेका छन्। उनले सडक र सिँचाइजस्ता आयोजनालाई प्राथमिकताका साथ समयमै सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याए।
समस्याको समाधान चमत्कारिक रूपमा निस्कन्छ भन्ने सोच राखे अर्को पाँच वर्ष पनि खेर जाने चेतावनी दिँदै उनले आगामी पाँच वर्षलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।
यसका लागि कानुनी सुधार, संस्थागत क्षमताको अभिवृद्धि तथा सार्वजनिक निकायका काम गर्ने तरिकामा परिवर्तन आवश्यक रहेको उनको भनाइ छ। साथै, नयाँ वित्तीय मोडल अभ्यास गर्नुपर्ने, निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने र अनुगमन प्रणालीमा सुधार गर्नुपर्ने उनले उल्लेख गरे।
‘केही नयाँ जोखिम उठाउनुपर्ने अवस्था पनि आउनेछ,’ उनले भने, ‘प्राइभेट सेक्टरलाई सँगसँगै लिएर जानु आवश्यक छ र हाम्रो अनुगमन गर्ने तरिका पनि परिवर्तन गर्नुपर्छ।’
आगामी पाँच वर्षभित्र पूर्वाधार क्षेत्रमा नेपालले रुपान्तरणकारी परिवर्तन गरेको उदाहरण प्रस्तुत गर्न सकिनेमा आफू विश्वस्त रहेको सभापति थापाले बताएका छन्।




















