पोखरा । नेपाली कांग्रेसका सभापति गगन थापा शुक्रबार पोखरा आइपुगेका छन्। विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएपछि उनी पहिलोपटक पोखरा आएका हुन्।
शुक्रबार बिहान पोखरा विमानस्थलमा अवतरण गरेका थापालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा कांग्रेसका स्थानीय नेताहरूले स्वागत गरेका थिए।
गण्डकीका मुख्यमन्त्री पाण्डे पछिल्लो विशेष महाधिवेशनको क्रममा सभापति थापाको विपक्षमा रहेका थिए। तर विमानस्थलमा भेट हुँदा सभापति थापा र मुख्यमन्त्री पाण्डेबीच खुला संवाद मात्र नभई सँगै हिँड्दै आत्मीयता देखिएको थियो।
सभापति थापा केही समयपछि नेपाली कांग्रेस कास्कीले चिप्लेढुंगास्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। त्यसपछि उनी कांग्रेस गण्डकी प्रदेश समितिको बैठकमा पनि उपस्थित हुनेछन्।
कांग्रेसका अनुसार थापाले गण्डकी प्रदेशका विभिन्न जिल्लाका नेता, कार्यकर्ता तथा उम्मेदवारहरूसँग छलफल गर्ने कार्यतालिका रहेको छ।




















