काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन एकै चरणमा सम्पन्न हुनेमा ढुक्क हुन आग्रह गरेकी छन्।
बिहीबार मतपत्र छपाइ स्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन निर्धारित मितिमै हुने स्पष्ट पारिन्।
उनले भनिन्, ‘ढुक्क र निश्चिन्त हुनुस्, चुनाव एकै दिनमा हुन्छ। दुई चरणमा हुँदैन। तोकिएकै मितिमा हुन्छ।’
प्रधानमन्त्री कार्कीले निर्वाचनको समयमा देशभरको मौसम पनि अनुकूल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने बताइन्।
‘मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ। सबैले सहज रूपमा मतदान गर्न पाउनुहुनेछ,’ उनले भनिन्।
उनले निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गरेर आफूहरू घर फर्किने उल्लेख गरिन्। ‘निर्वाचित प्रतिनिधिसभालाई सरकार हस्तान्तरण गर्छौं र हामी आफ्नो घर जान्छौँ,’ कार्कीले भनिन्।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग र आयुक्तहरूको भूमिका प्रशंसनीय रहेको बताइन्।




















