काठमाडौं । प्रतिनिधिसभा सदस्यका उम्मेदवारले सामाजिक सञ्जालमार्फत गर्ने प्रचार–प्रसारमा भएको खर्च पनि निर्वाचन आयोगले निगरानीमा राख्ने भएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्चको विवरण पनि आयोगले नियाल्ने जानकारी दिए। उनका अनुसार प्राविधिक रूपमा सामाजिक सञ्जालमा कसले, कुन संस्थामार्फत र कति खर्च गरेर प्रचार गरेको हो भन्ने तथ्य पत्ता लगाउन गाह्रो छैन।
भट्टराईले भने, ‘कुन व्यक्ति वा संस्थाले सामाजिक सञ्जालमा कति खर्च गर्यो भन्ने कुरा अहिले सहजै हेर्न सकिन्छ। उम्मेदवारले सामाजिक सञ्जालमा गरेको खर्च पनि निर्वाचन खर्चको सीमा भित्र परेको छ कि छैन भन्ने आयोगले मूल्यांकन गर्छ।’
आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ। आयोगले निर्वाचन क्षेत्रको भौगोलिक अवस्थालाई आधार मानी उम्मेदवारका लागि खर्च सीमा तोकेको छ।
आयोगका अनुसार सुगम र दुर्गम क्षेत्रलाई फरक–फरक समूहमा राखी खर्च सीमा निर्धारण गरिएको हो। आयोगले अधिकतम २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा निर्धारण गरेको छ ।
निर्वाचन परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र उम्मेदवारले आफ्नो निर्वाचन खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने प्रावधान रहेको आयोगले स्मरण गराएको छ।



















