काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले मतदातालाई घुमन्ते उम्मेदवारलाई घुमाएर फर्काउन आग्रह गरे।
राष्ट्रिय युवा संघ तथा केन्द्रीय युवा परिषद्को बैठकलाई सम्बोधन गर्दै बस्नेतले भने “अहिले घुमन्ते उम्मेदवार देशभर घुम्ने चलन रास्वपाले चलाएको छ। घुमन्तेलाई घुमाइदिनुस्, विकास र समृद्धि देखाइदिनुस्, भोट नेकपा एमालेलाई हालिदिनुस् ।”
उनले झापा लगायत देशभरका मतदातालाई यसपटक रैथाने उम्मेदवारलाई नै मतदान गर्न आग्रह गर्दै भने, “यसपटकको चुनावमा घुमन्ते उम्मेदवार बाइबाइ, रैथाने उम्मेदवार हाइहाइ। नेकपा एमाले जिन्दावाद, घुमन्ते उम्मेदवार मुर्दावाद।”
यसैबीच, बस्नेतले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यक्ति हत्या गर्ने आरोप लगाउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
“पूर्वप्रधानमन्त्रीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च भइरहेको छ,” उनले भने।
अर्को कार्यक्रममा बोल्दै एमाले सचिव बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतालाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग तुलना गरे। उनले जेलेन्स्कीलाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ‘जोकर’ भन्न थालेको उल्लेख गर्दै नेपालमा पनि यस्तै प्रवृत्ति देखिएको टिप्पणी गरे।
“आज नेपालमा सिंगापुरतिर घुमिरहेका ‘जेलेन्स्कीहरू’ डबल अवतारमा लम्कीतिर घुमिरहेका छन्। विदेशी स्वार्थ पूरा भएपछि उनीहरूलाई पनि भनिनेछ– तिमी नेता होइन, जोकर हौ,” उनले भने।
पश्चिमी मुलुकहरूले नेपाललाई युद्धभूमि र रकेट प्रक्षेपण गर्ने स्थलका रूपमा प्रयोग गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले युवा पुस्ताले यसबारे सचेत हुनुपर्ने बताए।
बस्नेतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता नलिने फैसलापछि अदालतमा आगजनी भए पनि न्याय नजलेको पुष्टि भएको टिप्पणी पनि गरे।




















