काठमाडौं । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ।
महानगरका अनुसार दुई मुख्य रुटमा विद्युतीय बस सञ्चालन गरिनेछ। उत्तर–दक्षिण दिशामा ललितपुरको लगनखेलदेखि बुढानीलकण्ठसम्म करिब १६ किलोमिटरको एकतर्फी रुट हुनेछ। यो रुटमा पाटन अस्पताल, नर्भिक अस्पताल, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल लगायतका स्थान पर्नेछन्।
पूर्व–पश्चिम दिशामा थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म २० किलोमिटरको अर्को रुट तय गरिएको छ, जसमा कलंकी, कालीमाटी, त्रिपुरेश्वर, माइतीघर मण्डला, बानेश्वर, तीनकुने लगायतका स्थान समेटिएका छन्।
यी दुवै रुटमा चार वटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुनेछन्। सेवा सुरु भएपछि साँझ ८ बजेदेखि राति ११ बजेसम्म बस चल्नेछ भने हरेक २० मिनेटमा बस उपलब्ध हुनेछ।
महानगरकी कार्यबाहक प्रमुख सुनिता डंगोलले राति सार्वजनिक यातायात अभावका कारण महँगो यात्रा गर्नुपर्ने अवस्था अन्त्य गर्न सेवा सुरु गर्न लागिएको बताइन्। उनका अनुसार विशेषगरी महिला, विद्यार्थी र सर्वसाधारणलाई सुरक्षित, सहज र किफायती यात्रा सुविधा प्रदान गर्नु यसको उद्देश्य हो।
बसमा सीसीटीभी क्यामेरा जडान गरिनेछ र सुरक्षाका लागि नगर प्रहरी परिचालन गरिनेछ। महानगरले यो सेवालाई आधुनिक, सुरक्षित र भरपर्दो सार्वजनिक यातायात प्रणालीका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।




















