जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय सदस्य जितकुमार साहसहित सात जना नेताहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।
राजीनामा दिनेहरूमा केन्द्रीय सदस्य साहसँगै जिल्ला सदस्य पवनकुमारी महतो, बटेश्वर गाउँपालिका अध्यक्ष रामपरीक्षण महतो, मिथिला विहारी नगरपालिका अध्यक्ष दिपेन्द्र कुमार यादव, अञ्जु देवी साहलगायत रहेका छन्।
पार्टी अध्यक्ष (सीके राउत)लाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनीहरूले नेतृत्वमाथि नातावाद, कृपावाद र दास प्रथाजस्ता प्रवृत्ति हाबी भएको आरोप लगाएका छन्।
देश संघीय लोकतान्त्रिक व्यवस्थामा रहे पनि जनमत पार्टीभित्र अलोकतान्त्रिक अभ्यास देखिएको, एकतात्मक तानाशाही प्रवृत्ति बढ्दै गएको तथा पार्टीको संगठनात्मक अवस्था कमजोर बन्दै गएको उल्लेख गर्दै उनीहरूले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन्।





















