मुम्बई । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको छ। ६६ वर्षीय पवार सवार चार्टर्ड विमान बुधबार बिहान करिब ८ः४५ बजे बारामतीमा दुर्घटनाग्रस्त भएको हो।
प्रारम्भिक विवरणअनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ। दुर्घटनामा पवारसहित उनका निजी सहायक, सुरक्षाकर्मी र एक उडान परिचारिकासमेत गरी पाँच जनाको मृत्यु भएको छ।
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ। यसअघि छ जनाको मृत्यु भएको खबर आएको भए पनि डीजीसीएले पछिल्लो तथ्यांक सच्याएको हो।
पवार मुम्बईबाट चार्टर्ड विमानमार्फत बारामती जाँदै थिए। उनी महाराष्ट्र पञ्चायत चुनावका लागि तय गरिएका चारवटा चुनावी सभालाई सम्बोधन गर्न जाँदै थिए।
घटनाका बेला उनका दाजु शरद पवार र छोरी सुप्रिया सुले भने दिल्लीमा रहेको बताइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।




















