काठमाडौँ । नेकपा (एमाले)का केपी शर्मा ओलीको पक्राउसँगै नेपाली राजनीतिक वृत्त तातेको छ । एमालेले यस कदमलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिँदै कानुनी र राजनीतिक दुवै मोर्चाबाट प्रतिवाद गर्ने संकेत दिएको छ ।
पार्टीका सचिव महेश बस्नेतले कुनै ठोस कानुनी आधारबिनै पार्टी अध्यक्षलाई पक्राउ गरिएको आरोप लगाए । उनले यस्तो कदम लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख गर्दै अब अदालतमार्फत यसको प्रतिवाद गरिने स्पष्ट पारे ।
शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले ओलीलाई नियन्त्रणमा लिएको हो। उक्त कारबाही जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अघि बढाइएको बताइएको छ।
पक्राउअघि ओलीले वरिष्ठ कानुनविद्हरूसँग परामर्श गरेका थिए । पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँगको छलफलमा उनले आफ्नो गिरफ्तारी कानुनी आधारविहीन भएको दाबी गरेका थिए ।
अधिवक्ता भट्टराईका अनुसार ओलीले यस घटनालाई पूर्ण रूपमा राजनीतिक प्रेरित भन्दै अदालतमा चुनौती दिने तयारी गरेका छन् । सोहीअनुसार आइतबार नै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जनाइएको छ ।




















