काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो पक्राउलाई ‘राजनीतिक पूर्वाग्रह र प्रतिशोध’ भएको बताएका छन् । शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ परेपछि उहाँले यस्तो प्रतिक्रिया दिएका हुन् ।
पक्राउपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै लेखकले आफूविरुद्धको कारबाही अस्वाभाविक भएको दाबी गरे ।
“राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको छ, यसको राजनीतिक र कानुनी दुवै लडाइँ लड्न तयार छु,” उनले भने । साथै, मन्त्रिपरिषद्को निर्णयबाट व्यक्तिलाई पक्राउ गर्ने अभ्यास सुरु गरिएको आरोप लगाउँदै उनले यसलाई कानुनको मजाक उडाउने कामको रूपमा व्याख्या गरे ।
यसैबीच, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो गिरफ्तारी प्रतिशोधपूर्ण भएको बताएका छन् । उनले कानुनी आधारबिनै आफूलाई नियन्त्रणमा लिइएको दाबी गर्दै अदालतमार्फत चुनौती दिने तयारी गरेको बताएका छन् ।




















