काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्ध दायर रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुर अजीज मुसलमानको इजलासमा परेको छ।
सर्वोच्च अदालतको पेसी सूचीअनुसार उक्त रिट न्यायाधीश मुसलमानको एकल इजलासको ‘ग’ नम्बरमा सुनुवाइका लागि तोकिएको हो। लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा महान्यायाधीवक्ता कार्यालयले संशोधन गरेको थियो।
केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दायर गरिएको थियो, जसलाई रास्वपाले राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आएको छ।
पछिल्लो समय महान्यायाधीवक्ता कार्यालयले सहकारी ठगी प्रकरणमा लामिछानेसहित अन्य प्रतिवादीमाथि लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गरी फिर्ता लिएको थियो।




















