काठमाडौँ । धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका आफ्ना उम्मेदवार मातृका प्रसाद यादवलाई अझै निर्वाचित प्रमाणपत्र नदिएको भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आपत्ति जनाएको छ।
नेकपाका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले सोमबार बिहान वक्तव्य जारी गर्दै मत परिणाम सार्वजनिक भइसक्दा पनि निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण नगरेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
वक्तव्यमा आयोगको २०८२ फागुन १८ गते बसेको बैठकले निर्वाचन ऐन, २०७४ अनुसार रास्वपाका उम्मेदवार किशोरी साह (कमल) को उम्मेदवारी खारेज गरिसकेको अवस्थामा मतगणनाबाट विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको उल्लेख गरिएको छ।
आयोगले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशनअनुसार सबै उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतगणना सम्पन्न भई नेकपाका उम्मेदवार यादव विजयी भएको घोषणा भइसकेको अवस्थामा पनि प्रमाणपत्र वितरणमा ढिलाइ हुनु चिन्ताजनक भएको पार्टीको भनाइ छ।
नेकपाले कानुनी रूपमा उम्मेदवारी नै खारेज भइसकेको व्यक्तिसँग सम्बन्धित विषय देखाएर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र नदिनु कानूनसम्मत नहुने बताएको छ। साथै संवैधानिक निकायका रूपमा आयोगलाई विधिको शासन पालना गर्दै कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गरिएको छ।
अन्तिम मत परिणामअनुसार धनुषा–१ मा यादवले १० हजार ४३० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहले ९ हजार ४८५ मत तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार रामचन्द्र मण्डलले ९ हजार २२० मत प्राप्त गरेका छन्।


















