काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको आधिकारिकताका विषयमा निर्वाचन आयोगले गलत वा षड्यन्त्रपूर्ण निर्णय गरे देशव्यापी आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले कांग्रेसको आधिकारिकताबारे अन्यथा निर्णय नगर्न निर्वाचन आयोगलाई आग्रह गरे। “निर्वाचन आयोग तलमाथि भएर, षड्यन्त्रमा परेर अन्यथा निर्णयमा पुग्यो भने आन्दोलन गर्नुबाहेक विकल्प रहँदैन,” उनले भने।
आयोगप्रति आफूहरूको विश्वास रहेको बताउँदै खड्काले बाहिर भइरहेका चर्चा र टिप्पणीहरूले आशंका जन्माएको बताए। “आन्दोलनमा जान बाध्य नपरियोस् भन्ने हाम्रो चाहना हो,” उनले भने, “गलत तरिकाले निर्णय नगरियोस्।”
खड्काले आफूहरू जिम्मेवारीपूर्वक निर्वाचनको तयारीमा लागेको उल्लेख गर्दै गलत निर्णय भए निर्वाचन छोडेर आन्दोलनमा उत्रिन सक्ने चेतावनी पनि दिए। “हामी निर्वाचनलाई पहिलो प्राथमिकता दिँदै सबै दलसँग संवाद गरिरहेका छौँ,” उनले भने, “तर कुनै पनि षड्यन्त्र वा गलत निर्णय भयो भने त्यसका विरुद्ध आन्दोलनका लागि देशभरका साथीहरू तयार रहन आग्रह गर्छु।”
पार्टी विभाजन भएको भन्ने आरोपलाई खारेज गर्दै खड्काले नेपाली कांग्रेस एकताबद्ध रहेको जिकिर गरे। “नेपाली कांग्रेस विभाजित भएको छैन। कांग्रेस एउटै छ,” उनले भने।
उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति यथावत रहेको बताउँदै सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टी अघि बढिरहेको स्पष्ट पारे। “केन्द्रीयदेखि सबै तहका कार्यसमिति सक्रिय छन्,” खड्काले भने।
कांग्रेसको आन्तरिक विवादका कारण आगामी प्रतिनिधि सभा निर्वाचन प्रभावित हुने हो कि भन्ने प्रश्नमा खड्काले कांग्रेस निर्वाचनमा सहभागी हुने र बहुमत ल्याउने दाबी गरे। “चुनाव हुन्छ, कांग्रेस सहभागी हुन्छ र बहुमत ल्याउँछ,” उनले भने।




















