काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका दमन, हिंसा तथा तोडफोडका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज ९आइतबार० आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउने भएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको स्रोतको दावी छ ।
जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न कार्की नेतृत्वको अन्तरिम सरकारले गत असोज ५ गते तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगलाई सुरुमा तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको भए पनि काम पूरा नभएकाले पटक–पटक म्याद थपिएको थियो।
अन्तिमपटक माघ २९ गते २५ दिनको म्याद थप गरिएको थियो। आयोगले अनुसन्धान पूरा गरिसके पनि निर्वाचन प्रभावित हुनसक्ने आशंकाले सरकारले प्रतिवेदन सार्वजनिक गर्न चुनावपछि सारिएको थियो ।
जेनजी आन्दोलनका क्रममा ७६ जनाको ज्यान गएको थियो। तीमध्ये ४५ जनालाई सरकारले सहिद घोषणा गरेको छ।




















