काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय सफलता हासिल गरेको छ । आज बिहान ९ बजेसम्म सार्वजनिक भएको परिणामअनुसार रास्वपा एक सय दुई निर्वाचन क्षेत्रमा विजयी भएको छ भने थप २३ क्षेत्रमा अग्रता कायम राखेको छ ।
निर्वाचन आयोगका अनुसार हालसम्म १३३ निर्वाचन क्षेत्रको मतगणना सार्वजनिक भइसकेको छ । सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेसले १५ क्षेत्रमा विजय हासिल गरेको छ भने एक स्थानमा अग्रता लिएको छ । त्यस्तै नेकपा एमाले सात स्थानमा विजयी हुँदा चार स्थानमा अग्रस्थानमा रहेको छ ।
आयोगको तथ्यांकअनुसार नेपाली कम्युनिस्ट पार्टीबाट हालसम्म छ जना उम्मेदवार विजयी भएका छन् भने दुई स्थानमा अग्रता कायम छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् । श्रम संस्कृति पार्टीका एकजना विजयी भएका छन् भने दुईजना उम्मेदवार हाल अग्रस्थानमा रहेका छन् ।




















