काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई एकतावद्ध राख्ने आफ्नो भागिरथ प्रयास सफल हुन नसकेको स्वीकार गरेका छन्। आज (माघ १) प्रकाशित विज्ञप्तिमार्फत उनले पार्टीभित्र देखिएको अवस्थाप्रति आत्मालोचना गर्दै दोष–निर्दोषको बहस गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न नचाहेको बताएका छन्।
विज्ञप्तिमा उनले कांग्रेस एकताका लागि सबैको इमानदार प्रयास रहे पनि त्यसले पूर्णता पाउन नसकेको उल्लेख गरेका छन्। “हामी सबै कहीँ न कहीँ चुकेका छौँ,” भन्दै उनले पछिल्लो समय घटेका घटनाहरूको वस्तुगत समीक्षा र त्यसमा व्यक्तिको भूमिकाको मूल्यांकन इतिहासले नै गर्ने विश्वास व्यक्त गरेका छन्।
डा. कोइरालाले कांग्रेस कमजोर पार्न दृश्य र अदृश्य रूपमा देखिएका आन्तरिक तथा बाह्य अन्तरविरोध, साथै राजधानी केन्द्रित राष्ट्रिय र अन्तर्राष्ट्रिय षड्यन्त्रहरू सक्रिय रहेको दाबी गरेका छन्। यस्ता प्रयासलाई रोक्न नसक्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ।
कठिन परिस्थितिमा पार्टीका संस्थापक नेता विपी कोइरालालाई स्मरण गर्नुपर्ने उल्लेख गर्दै उनले विपीले नियतिमा विश्वास गर्ने गरेको प्रसंग पनि उठाएका छन्। कांग्रेस एकढिक्का भएर अघि बढ्न नसक्नु पनि नियतिको कठोर सत्यका रूपमा आफूले बुझेको उनले बताएका छन्।
आसन्न निर्वाचनतर्फ संकेत गर्दै डा. कोइरालाले आठ दशक लामो कांग्रेस इतिहासको गौरव जोगाउने जिम्मेवारी अहिले सबैको काँधमा रहेको बताए। संगठनात्मक ऊर्जा प्रस्फुटन गरेर मात्र इतिहास र अग्रज नेताहरूले दिएको जिम्मेवारी पूरा गर्न सकिने उनको भनाइ छ।
उनले पार्टी एकता अहिले अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै आम कार्यकर्तालाई कांग्रेसमै फर्कन आह्वान गरेका छन्। कांग्रेस साझा इतिहास, साझा नेता र शहिदहरूको बलिदानबाट बनेको पार्टी भएको स्मरण गराउँदै नेपाल र नेपालीको साझा भविष्य निर्माण यही पार्टीबाट सम्भव रहेको बताए।
विगतमा पार्टी विभाजन हुँदा पनि जनताले कांग्रेसप्रतिको भरोसा नटुटाएको उल्लेख गर्दै उनले यसपटक पनि अग्रज नेताहरूको मार्गदर्शन र शहिदहरूको बलिदान सम्झेर जनताको घरदैलोमा भोट माग्नुपर्ने बताएका छन्। समय छोटो भए पनि चुनावी अभियानमा जनतासँग प्रत्यक्ष भेट्ने प्रयास गर्ने उनको भनाइ छ।
पार्टीभित्र आवश्यक सुधारका प्रक्रिया नरोकिने स्पष्ट पार्दै डा. कोइरालाले अन्त्यमा भनेका छन्, “हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं। यहाँ जित–हार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ।”
डा. शखेर कोइरालाको वक्तव्य:
साथीहरु,
कांग्रेसलाई एकतावद्ध राख्ने हाम्रो भागिरथ प्रयास सफल हुन सकेन । यसको पछाडी को दोषी को निर्दोष भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल पार्न म चाहन्न । हामी सबै कही न कही चुकेको कुरा स्विकार्न मलाई कुनै संकोच छैन ।
यस विचमा घटेका कैयन घटनाहरुको साक्षी भएकोले यस दुर्घटनाको वस्तुपरक समीक्षा र यसमा व्यक्तिको भूमिका वारे मूल्यांकन गर्ने जिम्मेवारी म इतिहाँसमा सुम्पन्छु ।
दृष्यमा देखिएका र नदेखिएका अनेकन् अन्तरविरोधबाट हामी यस विच गुज्रियौँ । राजधानीमा षडयन्त्रको अनेकन् राष्ट्रिय र अन्तराष्ट्रिय तानाबाना बुनिए र कांग्रेसलाई कमजोर पार्न चाहनेको स्वार्थलाई हामीले रोक्न सकेनौँ ।
कांग्रेस एक भएर आसन्न निर्वाचनमा होमिनु पर्छ भन्नेमा सबैको ईमान्दार प्रयास थियो । तर त्यसो हुन सकेन । यस कठिन घडीमा हामीले स्मरण गर्नुपर्ने हाम्रा महामानव श्रद्धेय नेता विपी कोइरालालाई हो ।
विपी कोइरालालाई जीउ ज्यानको बाजी लगाएर साथ दिने लाखौं साथीहरु पार्टीमा अविचलित भएर लोकतन्त्रको संघर्षमा अथकित भै संघर्षरत रहे, तर केही व्यक्ति र समुह विपीलाई छाडेर गए । उहाँ यसलाई नियतिको खेल भन्नुहुन्थ्यो ।
विपी कोइराला नियतिमा विश्वास गर्नुहुन्थ्यो । म आज यतिखेर कांग्रेस एकढिक्का भएर अगाडि बढ्न नसक्नुलाई पनि त्यही नियतिको कठोर सत्य भनेर बुझ्छु ।
अब हाम्रा सामु आसन्न निर्वाचनमा जाने र आठ दशक लामो कांग्रेस इतिहाँसको गौरवलाई जोगाउने जिम्मेवारी छ । यस कठिन घडीमा कांग्रेसको संगठनात्मक उर्जा प्रस्फुटन भएर मात्र हामी इतिहाँसले र हाम्रा अग्रज नेताहरुले दिएको जिम्मेवारी पुरा गर्न सक्छौँ ।
यसको लागि सम्पुर्ण कांग्रेस एकताको खाँचो अहिले अपरिहार्य भएको छ । तसर्थ, साथीहरु कांग्रेस पार्टी आम कार्यकर्ता साथीहरुले निर्माण गरेको पार्टी हो, हाम्रा साझा इतिहाँस छन, साझा नेता र शहिदहरु छन । हामी यिनैको प्रेरणाबाट नेपाल र नेपालीको साझा भविष्यको कल्पना गर्न सक्छौँ ।
हामी यही पार्टीमा बसेर नेपालको भविष्य निर्माण गर्नुपरेको छ । हाम्रा अग्रज नेताहरु र शहिद हुनुभएका साथीहरु हाम्रा प्रेरणाका स्रोत हुन ।
नेपाली जनताले गरेको भरोसा र विश्वासलाई आम मतदाताले विगतमा पार्टी विभाजनको कारण प्रभावित हुन दिएका थिएनन् । आज एकपटक फेरी तपाई हामी हाम्रा सबै अग्रज नेताहरुको मार्ग दर्शनबाट र शहिदहरुको बलिदानलाई सम्झेर नेपाली जनताको समृद्धिको यात्रामा जनताको घर दैलोमा भोट माग्न जानु परेको छ । समय छोटो छ, तर पनि यथासम्भव तपाईहरुको घर आंगनमा कांग्रेसको चुनावी अभियानमा म आउने कोशिस गर्दछु ।
पार्टी भित्र गर्नुपर्ने सुधारका प्रकृया रोकिने छैनन् । म आह्वान गर्छू : हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ । जय नेपाल ।
डा. शेखर कोइराला
२०८२ माघ १




















