विराटनगर । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा कोशी प्रदेशबाट निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय कोशी प्रदेशले राष्ट्रियसभा निर्वाचनअन्तर्गत दलित, महिला र अन्य समूह गरी तीन सदस्यका लागि निर्वाचन हुने व्यवस्था रहेकोमा ‘अन्य’ समूहअन्तर्गत थापा निर्विरोध निर्वाचित भएको जनाएको हो। अब महिला र दलित समूहका दुई सदस्यका लागि मात्र मतदान हुने छ।
निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँका अनुसार तोकिएको समयभित्र ‘अन्य’ समूहमा एक जनाको मात्र उम्मेदवारी परेको थियो भने महिला र दलित समूहमा दुई–दुई जनाको उम्मेदवारी परेको थियो।
महिला समूहमा नेकपा एमालेबाट रोशनी मेचे र नेपाली कम्युनिष्ट पार्टीबाट नमिता न्यौपाने तथा दलित समूहमा नेकपा एमालेबाट सोमनाथ पोर्तेल र नेपाली कम्युनिष्ट पार्टीबाट खेमराज नेपालीको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशित गरेको छ।
कोशी प्रदेशमा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २७३ गरी कुल ३६६ जना मतदाता रहेका छन्। यद्यपि, एक स्थानीय तहका अध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेकाले मतदाता नामावलीबाट नाम हटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।




















