काठमाडौं । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन फेरि प्रभावित भएको छ। नुवाकोटस्थित बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयवासीले अवरोध गरेपछि फोहर विसर्जन रोकिएको हो।
स्थानीयले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर बोकेर पुगेका गाडीलाई फिर्ता पठाएका छन्। उनका अनुसार काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालय सँग भएको सहमति लागू नभएसम्म फोहर फाल्न नदिने अडान लिइएको छ।
यसअघि तत्कालीन सहरी विकासमन्त्री कुलमान घिसिङले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि अवरोध हटाइएको थियो। तर ती प्रतिबद्धता पूरा नभएको भन्दै स्थानीयले पुनः आन्दोलन सुरु गरेका हुन्।
नुवाकोटको ककनी गाउँपालिका–१, २ र ३ तथा धादिङको धुनीबेँसी नगरपालिका–१, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका सवारीसाधन रोकेका छन्। ककनी, बेलकोटगढी र धुनीबेँसीका जनप्रतिनिधि तथा विभिन्न दलका नेताहरूले पनि स्थानीयको मागलाई समर्थन गरेका छन्।




















