पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ।
एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीका अनुसार अस्पतालमा उपचारका क्रममा थापाको निधन भएको हो। थापालाई हृदयघात भएपछि मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।
एमाले कास्कीले आज चुनावी समीक्षा बैठक आयोजना गरेको थियो। सोही बैठकमा बोल्ने क्रममा थापा अचानक ढलेका थिए।
राजनीतिक रूपमा सक्रिय रहेका थापा २०५४ सालमा पोखराको मेयरमा निर्वाचित भएका थिए। २०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य बनेका थिए भने २०७९ सालको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा पराजित भएका थिए।
हालै सम्पन्न निर्वाचनमा पनि थापाले टिकट पाएका थिए, तर पछि उक्त टिकट रश्मी आचार्यलाई दिइएको थियो। रश्मी रास्वपाका उत्तम पौडेलसँग पराजित भए ।
एमाले कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष समेत रहेका थापा जेन–जी आन्दोलनपछिको पार्टी महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत बनेका थिए।




















