काठमाडौं । अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्योलता केही हदसम्म कम गरेको भए पनि स्थिरताको प्रश्न भने अझै समाधान नभएको बताएकी छन्।
मोतीदेवी स्मृति केन्द्रद्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको ११६औँ अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)की नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री शाक्यले देशको वर्तमान राजनीतिक अवस्थाबारे चिन्ता व्यक्त गरिन्।
उनले निर्वाचनपछि केही अन्योलता हटे पनि अब देश कसरी अघि बढ्छ भन्ने विषयमा अझै नागरिकहरूमा जिज्ञासा र चिन्ता रहेको बताइन्। अहिलेको परिस्थितिमा विभिन्न चुनौतीहरू रहेको उल्लेख गर्दै ती चुनौती सामना गर्न सबै नेपालीबीच एकता आवश्यक रहेको उनको भनाइ थियो।
शाक्यले देशप्रेमको भावना बलियो बनाउनुपर्नेमा जोड दिँदै नेपाल रहँदा मात्रै नेपालीहरूको पहिचान र अस्तित्व सुरक्षित रहने बताइन्। “नेपाल रहे मात्र हामी रहन्छौं, हाम्रो सार्वभौम पहिचान रहन्छ,” भन्दै उनले सबैलाई देशप्रति माया र जिम्मेवारी बोध गर्न आग्रह गरिन्।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन र संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्य हासिल गर्न राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। त्यसका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र सामाजिक न्यायका क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको उनले उल्लेख गरिन्।
कार्यक्रममा उनले देशको समृद्धि, सुशासन र न्याय सुनिश्चित गर्न नेपाली महिलाहरू राजनीतिक दलको सीमाभन्दा माथि उठेर एकताबद्ध हुनुपर्नेमा जोड दिइन्। महिलाहरू फरक–फरक राजनीतिक दलमा आवद्ध भए पनि राष्ट्रिय मुद्दामा एउटै आवाज हुनुपर्ने उनको भनाइ थियो।
संविधानले महिलाका अधिकार सुरक्षित गरिसकेको र राज्यका विभिन्न निकायमा महिलाको पहुँच बढ्दै गएको उल्लेख गर्दै अब महिलाहरू निष्क्रिय भएर बस्न नहुने उनले स्पष्ट पारिन्।




















