काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए।
भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायतका सेनाध्यक्ष जनरल सर रोय वाकरलगायत उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

त्यसैगरी, वेल्सको ब्रेकनस्थित इन्फ्यान्ट्री ब्याटल स्कुलको भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षण गरेका थिए। अभ्यासमा स्वर्ण पदक जित्न सफल नेपाली सैनिक टोलीका सदस्यलाई उनले प्रधानसेनापति प्रशंसा निशानबाट सुशोभितसमेत गरेका थिए।
प्रधानसेनापति सिग्देलको भ्रमणले नेपाल र बेलायतबीच लामो समयदेखि कायम सौहार्दपूर्ण द्विपक्षीय सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन मद्दत पुगेको जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाले जनाएको छ।





















