काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश उमेशप्रसाद मैनालीको इजलासले साइबर अपराधसम्बन्धी मुद्दामा प्रसाईंलाई उक्त रकम धरौटीमा रिहा गर्न आदेश दिएको हो।
नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले प्रसाईंलाई असोज १२ गते पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको थियो।
खतिवडा जेनजी आन्दोलनका क्रममा मारिएका रसिक खतिवडाकी आमा हुन्। प्रसाईंले सामाजिक सञ्जालमार्फत रसिक खतिवडालाई लिएर अपमानजनक टिप्पणी गरेको आरोपमा उजुरी परेको थियो।
प्रसाईं यसअघि पनि विभिन्न मुद्दामा पक्राउ पर्दै आएका छन्। गत साउन १८ गते सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका थिए। त्यसैगरी, गत भदौ ४ गते प्रहरीले उनको घरमा खानतलासी गरेको थियो। सर्वोच्च अदालतको आदेशपछि घरबाट बरामद गरिएका सामान प्रहरीले फिर्ता गरेको थियो।
यसपटकको पक्राउविरुद्ध पनि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो। उक्त रिट विचाराधीन रहेकै अवस्थामा जिल्ला अदालतले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।




















