काठमाडौं । इन्टर्न तथा आवासीय चिकित्सकका माग सम्बोधन गर्ने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै डा. डिल्ली हरिजनले दोस्रो पटक आमरण अनशन सुरु गरेका छन्।
डा. हरिजन सोमबारदेखि भक्तपुरको सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगको कार्यालयमा आमरण अनशनमा बसेका हुन्। इन्टर्न तथा आवासीय चिकित्सकको कार्यघण्टा, निर्वाह भत्ता र सुरक्षित कार्य वातावरणलगायतका विषयमा उनले यसअघि पनि आन्दोलन गरेका थिए।
यसअघि अनशन बसेपछि सरकारले डा. हरिजनसँग पाँचबुँदे सहमति गरेको थियो। तर सहमति भएको दुई महिना बितिसक्दा पनि कार्यान्वयन नभएको उनको आरोप छ। सहमति कार्यान्वयनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले चासो नदिएपछि पुनः अनशन बस्न बाध्य भएको उनले बताएका छन्।
उनका अनुसार इन्टर्न तथा आवासीय चिकित्सकले अझै पनि कठिन परिस्थितिमा काम गर्नुपरिरहेको छ। विशेषगरी ३६ घण्टासम्म लगातार ड्युटी गर्नुपर्ने अवस्थाले चिकित्सकको स्वास्थ्य र कार्यक्षमतासँगै बिरामीको उपचार सेवामा समेत असर पार्न सक्ने उनले बताए।
इन्टर्न तथा आवासीय चिकित्सकलाई लामो समयसम्म काममा लगाउने तर त्यसअनुसार सुविधा, सुरक्षा र श्रमको उचित सम्मान नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको माग छ। चिकित्सकलाई सुरक्षित र मर्यादित वातावरणमा काम गर्ने व्यवस्था मिलाउनु राज्यको दायित्व भएको उनले बताए।
माग सम्बोधनका लागि सडक आन्दोलनदेखि सदनसम्म तथा संवाददेखि अनशनसम्मका शान्तिपूर्ण माध्यम अपनाइसक्दा पनि पटक–पटक गरिएका प्रतिबद्धता कार्यान्वयन नभएको उनको भनाइ छ।
सहमति कार्यान्वयन गरी इन्टर्न तथा आवासीय चिकित्सकका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै डा. हरिजनले माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका छन्। उनका अनुसार आफूले उठाएका विषय व्यक्तिगत नभई देशभरका इन्टर्न तथा आवासीय चिकित्सकको कार्य अवस्था र अधिकारसँग सम्बन्धित छन्।




















