काठमाडौं । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा थप चार जना आरोहीको शव फेला परेको छ। यससँगै हिमपहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ।
हराइरहेका आरोहीको खोज तथा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघको टोलीले बिहीबार थप चार शव फेला पारेको हो। उद्धार टोलीका प्रमुख पासाङ काजी शेर्पाले चार जनाको शव फेला परेको जानकारी दिए।
हिमपहिरोमा पुरिएका शव निकाल्ने काम भइरहेको र मृतकको पहिचान हुन बाँकी रहेको शेर्पाले बताए।
यसअघि बुधबार आश गुरुङ, सुरज राई र पदम मगरको शव फेला परेको थियो। त्यस्तै, आइतबार र सोमबार वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो।
हिमपहिरोपछि अझै पाँच जना आरोही तथा सहयोगी सम्पर्कविहीन छन्। उनीहरूको खोजी कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ।
असोज ११ गते मनाङको नार्फाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो गएको थियो। हिमपहिरोमा १६ जना हराएका थिए भने आरोहण टोलीमा रहेका ११ जना दोस्रो दिन सम्पर्कमा आएका थिए।




















