काठमाडौं । असोज ८ देखि चार दिनसम्मको वर्षाले नारायणी नदीमा आएको बाढीका कारण भरतपुर महानगरपालिका–१ स्थित राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयको कक्षाकोठाभित्र समेत लेदो–माटो पसेपछि पठनपाठन ठप्प भएको छ ।
सबै निकायबाट आश्वासन मात्र प्राप्त भएको र अहिलेसम्म उद्धार वा सरसफाइका लागि कसैले पनि मानिस नपठाए पछि शिक्षक, कर्मचारी र विद्यार्थीहरुले सफा गरिरहेका छन् । महानगरपालिकाबाट आएको दमकलले दुई दमकल पानी हालेर विद्यालयको माथिल्लो पेटी सफा गरेपनि कक्षाकोठा अझै हिलाम्मे छन् ।
विद्यालय आसपासका स्थानीय आफ्नै घरभित्र पसेको हिलो सोहोर्न व्यस्त रहेकाले ज्याला दिएर काम गराउन मजदुरसमेत नपाइएको विद्यालय प्रशासनले जनाएको छ ।




















