काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गर्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष बयान दिएका छन्।
राणालाई नियन्त्रणमा लिने क्रममा नेतृत्व गरेका एसएसपी खड्काले आयोगसमक्ष आफूले सबै काम आदेशअनुसार गरेको बयान दिएका हुन्।
आइतबार मध्यराति एसएसपी खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले राणालाई उनको शयन कक्षबाटै नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई शनिबार रातिदेखि आइतबार अपराह्नसम्म काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको थियो।
पूर्वसंवैधानिक पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली अपराध अनुसन्धान कार्यालय पुगेको थियो। तर आयोगको टोलीलाई राणासँग भेट गर्न अनुमति दिइएको थिएन।
सोही घटनाबारे अनुसन्धानका क्रममा आयोगले एसएसपी खड्कालाई बयानका लागि बोलाएको हो। आयोगमा कार्यरत उपसचिवस्तरकी अनुसन्धान अधिकृतले उनको बयान लिएकी थिइन्।
आयोग स्रोतका अनुसार एसएसपी खड्कासँग प्रारम्भिक चरणको बयान लिइएको हो र घटनासम्बन्धी अनुसन्धान जारी छ। आवश्यकताअनुसार अन्य व्यक्ति तथा सम्बन्धित निकायसँग समेत सोधपुछ गर्न सकिने स्रोतले जनाएको छ।
आयोग स्रोतले राणालाई पक्राउ गरिएको विषय तथा आयोगको टोलीलाई अनुगमनका क्रममा सम्बन्धित व्यक्तिसँग भेट्न नदिइएको घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको जनाएको छ।




















