काठमाडौं । रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध भएसँगै सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण पछिल्लो दुई दिनदेखि देशभर वर्षा भइरहेको छ। लगातारको वर्षापछि रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।
यसैगरी, बीपी राजमार्गअन्तर्गत चारसयवेशी, चौकीडाँडा र गिम्तीवेशी क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन थप प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा सयौँ यात्रु तथा सवारीसाधन बीचबाटोमै रोकिएका छन्।
सडक खुलाउन सडक डिभिजन भक्तपुरले प्राविधिक टोली परिचालन गरेको छ। वर्षा रोकिए पाँच घण्टाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको कार्यालयले जनाएको छ।
स्थायी संरचना मर्मत तथा डाइभर्सन पुनर्निर्माणका लागि आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको छ। पहिरो पन्छाउने काम जारी रहे पनि निरन्तर वर्षाका कारण उद्धार तथा मर्मत कार्यमा कठिनाइ भइरहेको छ।
बीपी राजमार्ग हुँदै यात्रा गर्ने चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।




















