काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ।
दाहालकी छोरी डेनी दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले रिट जारी गर्ने आदेश दिएको हो।
राजनीतिक छलफलका लागि असोज २ गते पूर्वतर्फ गएका दाहाल असोज ३ गतेको छलफल सकेर असोज ४ गते काठमाडौं फर्किने तयारीमा थिए। सोही क्रममा उनलाई सुन्दरहरैंचा–८, सलकपुरस्थित गौरी ढकालको चिया पसलबाट बिहान बेलबारी प्रहरीले नियन्त्रणमा लिएको थियो।
सरकारको आलोचना गर्दै आएका दाहाललाई सामाजिक सञ्जालमा भ्रामक अभिव्यक्ति दिएको आरोपमा साइबर ब्युरो, काठमाडौंको टोलीले पक्राउ गरेको थियो।
सर्वोच्चको आदेशसँगै दाहाललाई थुनामुक्त गर्ने बाटो खुलेको छ।



















