काठमाडौं । साझा यातायातले संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट रात्रिकालीन वस सेवालाई चार गुणाले विस्तार गरेको छ । ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा हुने थालेका छन् ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि दुईवटा रुट (नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ) मा सात वटा बसमार्फत रात्रिकालीन सेवा सुरु गरिएको थियो ।
शनिबारदेखि बुढानीलकण्ठ–गोदावरी रुटमा ६ वटा, जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा, विमानस्थल–नागढुंगा रुटमा ४ वटा, कीर्तिपुर–जमल रुटमा ४ वटा तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ गरी ८ वटा विद्युतीय बस सञ्चालन भएका छन् । यसअघि सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा क्रमशः चार र तीन वटा बस चल्ने जनाइएको छ।
कम्पनीका अनुसार रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म छुट्ने छन् ।



















