काठमाडौँ । नापी कार्यालय डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वली ९ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार वलीलाई घुसबापत लिइसकेको ९ लाख रुपैयाँसहित टोखा नगरपालिका–५, वसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट भदौ ३१ गते नियन्त्रणमा लिइएको हो।
आयोगका अनुसार वलीले छुट जग्गा दर्ताका लागि सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजु, काठमाडौंमा पठाउने क्रममा सेवाग्राहीलाई अनावश्यक दुःख–हैरानी दिई घुस माग गरेको आरोप छ।
यससम्बन्धी सूचना तथा उजुरीका आधारमा अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले वलीलाई घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।
वलीविरुद्ध घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।



















