काठमाडौं । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट कृषि क्षेत्रमा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको पाइएको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) प्रतिवेदनअनुसार बाढीबाट धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुगेको हो।
प्रतिवेदनअनुसार बाढीबाट विभिन्न स्थानीय तहमा एक हजार ६६९ हेक्टर धान खेती प्रभावित भएको छ। यसबाट करिब पाँच हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको अनुमान गरिएको छ।
त्यस्तै, १३७ हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब एक हजार ८४३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ।
धान खेतीतर्फ नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित भएको छ। विदुरमा मात्रै ७०० हेक्टर धान खेती प्रभावित हुँदा दुई हजार ४५० टन धानमा क्षति पुगेको छ। लिखुमा २३० हेक्टर क्षेत्र प्रभावित हुँदा ८०५ टन र बेलकोटगढीमा २०० हेक्टर प्रभावित हुँदा ७०० टन धानमा क्षति पुगेको छ।
धादिङको बेनीघाट रोराङमा २५ हेक्टर, गजुरीमा ७५ हेक्टर, सिद्धलेकमा ५८ हेक्टर र गल्छीमा ८७ हेक्टर धान खेती प्रभावित भएको छ। रसुवाको गोसाइँकुण्डमा १४० हेक्टर र उत्तरगयामा १४३ हेक्टर धान खेती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।
तरकारीतर्फ पनि नुवाकोटको विदुरमा सबैभन्दा ठूलो क्षति भएको छ। विदुरमा ९८ हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा करिब एक हजार ३२३ टन उत्पादनमा क्षति पुगेको छ। धादिङको बेनीघाट रोराङमा नौ हेक्टर, गजुरीमा सात हेक्टर, सिद्धलेकमा दुई हेक्टर र गल्छीमा १४ हेक्टर तरकारी क्षेत्र प्रभावित भएको छ।
पशुपन्छीमा १ अर्ब ११ करोडभन्दा बढी क्षति
बाढीबाट पशुपन्छी क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ। प्रतिवेदनअनुसार दुई लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन्। यसबाट अनुमानित रु १ अर्ब ११ करोड ३९ लाख बराबरको क्षति भएको छ।
प्रभावित पशुपन्छीमध्ये कुखुराको संख्या सबैभन्दा धेरै छ। बाढीबाट करिब दुई लाख १४ हजार ८२७ कुखुरा प्रभावित भएका छन्। यो कुल प्रभावित पशुपन्छीको ८५.१ प्रतिशत हो।
मूल्यका आधारमा भने भैँसीमा सबैभन्दा बढी क्षति भएको छ। चार हजार ५७२ भैँसी प्रभावित हुँदा करिब रु ४५ करोड ७२ लाख बराबरको क्षति भएको अनुमान छ। त्यस्तै, बाख्रा तथा च्याङ्ग्रामा रु ३९ करोड १३ लाख, गाईगोरुमा रु १७ करोड ९२ लाख र कुखुरामा रु ५ करोड ३७ लाख बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी बङ्गुर तथा बँदेलमा रु १ करोड ९६ लाख, अन्य पशुमा रु १ करोड ४ लाख, भेडामा रु २५ लाख र अन्य चरामा करिब रु १ लाख बराबरको क्षति भएको छ।
प्रतिवेदनअनुसार कुल पशुधन क्षतिको ९२.३ प्रतिशत हिस्सा भैँसी, बाख्रा÷च्याङ्ग्रा र गाईगोरुमा भएको क्षतिले मात्र ओगटेको छ। यसले बाढीबाट कृषकको आम्दानीसँगै ग्रामीण अर्थतन्त्रमा समेत गम्भीर असर परेको देखाएको छ।




















