काठमाडौं । वरिष्ठ पत्रकार, लेखक तथा राजनीतिक विश्लेषक युवराज गौतमको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि शनिवार बिहान सतुंगलस्थित सशस्त्र प्रहरी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनकी छोरी ओजस्वी गौतम वेलायतबाट आज आइपुगेपछि अन्तेष्टि गरिएको हो । गौतमकी एक्ली छोरी ओजस्वीले नै दागबत्ती दिइन् ।
श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि स्वास्थ्य परीक्षण गरिएको र आइतबार थप परीक्षणका लागि चिकित्सकले समय दिएका थिए । तर, शनिबार बिहान निकै गाह्रो भएपछि थानकोटबाट सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । लामो समयदेखि मृगौला, कलेजो र फोक्सोको समस्याबाट पीडित गौतमको छाति तल बेलाबेलामा सुनिन्ने गरेको थियो ।

२०१६ माघ ७ गते इलाममा जन्मिएका गौतम थानकोट काठमाडौंमा बस्दै आएका थिए । उनका एक पत्नी र एक छोरी छन् ।
२०३५ सालदेखि पत्रकारितामा सक्रिय गौतमले रेडियो, टेलिभिजन र पत्रपत्रिकामा काम गर्नुका साथै पत्रकारिताका पुराना प्रशिक्षक पनि हुन । लाभा (निबन्ध संग्रह), राजतन्त्र कि गणतन्त्रः तुलनात्मक अध्ययन, वीरेन्द्र स्मृति ग्रन्थ (सम्पादन), राष्ट्रवादको आलोकमा राजा महेन्द्रको डायरी र अनेकौं पुस्तकका लेखक तथा सम्पादक गौतम अनुसन्धानमा अभिरुचि राख्ने अध्ययनशील पत्रकार थिए ।
कान्तिपुर दैनिकका सहायक सम्पादक, गोरखापत्र दैनिकका प्रधानसम्पादक, सारथि, रुपरेखालगायत विभिन्न साप्ताहिकका सम्पादक र नेपाल टेलिभिजनमा समाचार सम्पादक रहेर काम गरेका गौतमले अन्नपूर्ण पोष्ट, नागरिक दैनिक, मार्गदर्शन खबरपत्रिका म्यागेजिन, मार्गदर्शनन्यूजडटकम, तरुण साप्ताहिक, हिन्दु साप्ताहिकलगायत विभिन्न अखवारका स्तम्भकार थिए । समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा झण्डै एक हजारभन्दा धेरै लेख/रचना प्रकाशित छन् ।
अन्तर्राष्ट्रिय सम्मेलनहरूमा उनले नेपालको प्रतिनिधित्व गरेका थिए भने भारतको राजधानी दिल्लीमा सन् २००४ मा आयोजित सार्क सम्पादक सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
प्रखर राष्ट्रवादी गौतमले प्रवल गोरखा दक्षिण बाहु, गद्दी आरोहण रजत महोत्सव, वीरेन्द्र–ऐश्वर्य पदक, वीरेन्द्र स्मृति पत्रकारिता पुरस्कारलगायत विभूषण र विभिन्न पदकका साथै अनेकौं पुरस्कार प्राप्त गरेका थिए ।
वरिष्ठ पत्रकार गौतमको अन्त्येष्टिमा राजनीतिज्ञ, समाजसेवी, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि, साथीभाइ, आफन्तलगायत डेढ/दुई सयको उपस्थिति रहेको थियो । उनको १३ दिने काजकिरियाको काम मिनभवनस्थित किरियापुत्री भवनमा श्रीमती उषा गौतमले गर्ने बताइएको छ ।
मार्गदर्शनन्यूजडटकम परिवार वरिष्ठ पत्रकार गौतमप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।





















