काठमाडौं । भोटेकोसी बाढी प्रभावितका लागि चीनले पठाएको पाँचौँ खेपको आकस्मिक राहत सामग्री काठमाडौं आइपुगेको छ।
राहत सामग्री बोकेको चिनियाँ जनमुक्ति सेना (पीएलए)को वाई–२० ‘ए’ कार्गो विमान शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले राहत सामग्री नेपाल सरकारका विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्।
चीनले पठाएको राहत सामग्रीमा डिजेल जेनेरेटर, मेडिकल प्रोटेक्टिभ मास्क, शव राख्ने मर्चरी फ्रिजर, डीएनए परीक्षण उपकरण तथा रिएजेन्ट र जल उद्धारका उपकरणहरू रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले राहत सामग्री पठाइएको चीनले जनाएको छ।
मन्त्री पुनले प्राप्त सामग्रीले आगामी दिनमा पनि बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिन महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।





















