काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राखिएको रसुवास्थित होल्डिङ सेन्टरमा २५ जनामा झाडापखालाको समस्या देखिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका २५ जनामा झाडापखालाको समस्या देखिएको जानकारी दिएका हुन्।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सचिव देवकोटाले झाडापखालाबाहेक अन्य गम्भीर स्वास्थ्य समस्या भने हालसम्म नदेखिएको बताए।
उनका अनुसार १० भदौमा रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ।
‘अहिले बाढी प्रभावित क्षेत्रमा डेढ लाख जनसंख्या रहेको हाम्रो आकलन हो। डेटा संकलनका लागि प्रदेश सरकार र हाम्रा विभिन्न च्यानलमार्फत तथ्यांक संकलन गरेका हौँ। केही तलमाथि पनि हुन सक्छ,’ उनले भने, ‘परैला रोगका बारेमा अघि कुरा उठाउनुभएको थियो। त्यस्तो बिरामी भेटिएका छैनन्। झाडापखालाका केस २५ देखिएका छन्।’
सचिव देवकोटाले पछिल्लो विपद्बाट स्वास्थ्य क्षेत्रले महत्वपूर्ण पाठ सिकेको भन्दै अब निर्माण हुने स्वास्थ्य तथा अन्य संरचनालाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिए।
भौगोलिक अवस्था र तापक्रमलाई ध्यानमा राखेर भवन निर्माणको अवधारणा अघि बढाउनुपर्ने भन्दै उनले मन्त्रालयले त्यससम्बन्धी योजना तयार गरिरहेको जानकारी दिए। संरचना निर्माण गर्दा स्वास्थ्यसम्बन्धी समस्या आइपरेमा सहज रूपमा सेवा लिन सकिने गरी नजिकका स्वास्थ्य संस्थाको अवस्थालाई समेत आधार बनाउनुपर्ने उनको भनाइ छ।
बागमती प्रदेश सरकार तथा सरकारका विभिन्न संयन्त्रमार्फत संकलन गरिएको तथ्यांकका आधारमा बाढी प्रभावित जनसंख्याको प्रारम्भिक आकलन गरिएको उनले बताए।
देवकोटाका अनुसार विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणका लागि ‘क्लाइमेट रेजिलेन्स स्ट्रक्चर’लाई समेत समेटेर मास्टरप्लान निर्माणको काम भइरहेको छ।




















