काठमाडौँ । रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर नगद तथा गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
खाँडादेवी गाउँपालिका–२, मझुवा नेवारटोलका ८५ वर्षीय बखतमान लामा र ८६ वर्षीया कान्छीमाया तामाङ सुतिरहेको अवस्थामा गत बिहीबार राति नकाबधारी समूह घरमा प्रवेश गरेको थियो। उनीहरूले दम्पतीको हात बाँधेर, मुख थुनी आँखामा पट्टी लगाउँदै ज्यान मार्ने धम्की दिएर नगद तथा गरगहना लुटेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले शनिबार भक्तपुरका विभिन्न स्थानबाट पाँच जनालाई लुटपाटमा प्रयोग भएका सवारीसाधन तथा चोरीका सामानसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुलीका २५ वर्षीय सुमन जर्घा मगर, रामेछापका ३२ वर्षीय दीर्घराज मोक्तान र ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाका ४४ वर्षीय पिताम्बर गहतराज तथा धनकुटाका ३८ वर्षीय दिपक भनिने गुणराज विश्वकर्मा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट नगद, मोबाइल, मोटरसाइकल, गरगहना तथा अन्य सामग्री बरामद भएको छ।
अनुसन्धानका क्रममा पशुपति श्रेष्ठको समूहले खाँडादेवी–७ स्थित रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका फुटाएर रकम चोरी गर्नुका साथै विभिन्न स्थानबाट खसी तथा बोका चोरी गरेकोसमेत खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये केहीविरुद्ध यसअघि पनि डाँका, चोरी, अभद्र व्यवहार तथा जुवासम्बन्धी मुद्दा चलेको पाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।




















