नुवाकोट । रसुवा आसपासको उच्च हिमाली क्षेत्रमा हिमनदी तथा हिमपिण्ड खस्दा ल्हेन्दे खोला–भोटेकोशीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको स्वास्थ्य उपचार तथा राहतका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
बिम्ब नेपाल, जेरियाट्रिक सोसाइटी अफ नेपाल र आर्ट अफ लिभिङ नेपालको संयुक्त आयोजनामा विदुर नगरपालिका–३, सिर्खालीस्थित रणभूमनेश्वर विद्यालयको होल्डिङ सेन्टरमा शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको हो।

बाढीका कारण अधिकांश प्रभावित ज्येष्ठ नागरिकले नियमित सेवन गर्दै आएका औषधि गुमाएकाले उपचार र औषधिको निरन्तरतामा समस्या आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै विशेषगरी दीर्घरोग भएका ज्येष्ठ नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।
शिविरमा ज्येष्ठ नागरिक रोग विशेषज्ञसहितको टोलीले स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श सेवा दिएको थियो। यस्तै, अर्थोपेडिक्स, मुटु परीक्षण, दन्त सेवा, अस्टियोप्याथी, जेरियाट्रिक सेवा, ट्रमा रिलीफ, तनाव व्यवस्थापन तथा मनोसामाजिक परामर्शलगायत सेवा उपलब्ध गराइएको थियो।

शिविरबाट कुल २०० जनाले स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श सेवा लिएका थिए। त्यसमध्ये १०१ जना ज्येष्ठ नागरिक थिए। ज्येष्ठ नागरिकमध्ये ४८ जना महिला र ५३ जना पुरुष रहेका छन्।
बाढीपछि उत्पन्न मानसिक तनाव तथा अन्य मनोसामाजिक समस्यालाई ध्यानमा राख्दै तनाव व्यवस्थापन र मनोसामाजिक परामर्श सेवासमेत प्रदान गरिएको थियो। उक्त सेवाबाट ६० जना ज्येष्ठ नागरिक तथा उनीहरूका परिवारका सदस्य लाभान्वित भएका छन्।

शिविरमा स्वास्थ्य परीक्षण तथा परामर्शसँगै आवश्यक औषधि र स्वास्थ्य सामग्रीसमेत निःशुल्क वितरण गरिएको थियो।
स्वास्थ्य शिविर सञ्चालनमा नेपाल एपीएफ अस्पताल तथा सशस्त्र प्रहरी बल, बलम्बुको सहकार्यमा स्थानीय तहमा खटिएका चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार सेवामा सहयोग गरेको आयोजकले जनाएको छ।
आयोजक संस्थाहरूले विपद्का बेला प्रभावित नागरिकलाई घाउमा मलम र राहत सामग्रीसँगै मानवीय साथ, सहानुभूति, बाँच्ने हौसला र आशाको अनुभूति गराउनुपर्नेमा जोड दिएका छन्।




















